काठमाडौँ, ३ माघ । सरकारले रेल किन्न स्वीकृति दिएसँगै पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । आजको मन्त्रिपरिषदको बैठककाे निर्णयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेल किन्न स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए ।
सरकारले जनकपुर(जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।
सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।
प्रतिनिधि सभाको बैठकलाई पुस २२ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयअघि पानीजहाज चलाउँछु भन्दा कागजका पानीजहाज बनाएर उडाउने अहिले फेरि खै पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेको आफूले सुनेको बताएका थिए ।
‘अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन हामीले कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौं,’ मन्त्री बाँस्कोटाले भने ।

