काठमाडौं,७ असार । थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसका अवसरमा रुपचन्द्र विष्ट स्मारक समिति नेपालले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस नेता नरहरि आचार्यको उपस्थितिमा कार्यक्रम हुने समितिले जनाएको छ ।
रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता थिए ।
प्रजातन्त्रवादी विचार भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी गिरफ्तारीमा परे। पटक पटक गिरफ्तार हुँदा पनि रूपचन्द्र जनमुखी राजनीतिमा पूर्ण प्रतिबद्ध रहे वि.सं.१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको निधन २०५६ साल असार ७ गते काठमाडौमा भएको थियो ।

