काठमाडौं,११ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना नेता तथा कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक सबैलाई कम्तीमा दुई रुख रोप्न निर्देशन दिनुभएको छ।
सरकारले असार १४ लाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउँदैछ। सोही अवसरमा नेकपाले आफ्ना कार्यकर्तालाई कम्तीमा दुई रुख रोप्न निर्देशन दिएको हो।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जलवायु परिवर्तन र विश्वमा तापमान वृद्धिले सिर्जना गरिरहेका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न बोटविरूवा एवं जंगलको योगदान महत्वपूर्ण छ’ सोहीलाई आधार मान्दै अध्यक्षद्वयले वृक्षरोपणमा सहभागी हुन अनुरोध गरेका हुन्। यसका साथै सरकारले हरेक वर्ष असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

