रिले अनसनको उद्घाटन गर्दै नयाँ शक्तिका संयोजक भट्टराईले तीन दललाई यसो भने

काठमाडौं, २ बैशाख–  दलीय चुनाव चिह्न पाउनुपर्ने माग गर्दै दवाव आन्दोलनलाई निरन्तरता दिँदै आएको नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले आजदेखि काठमाडौंमा अनसन सुरु गरेका छन ।

संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिह्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले काठमाडांैंको रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन ।

अनसनको शुभारम्भ गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय चुनाव चिह्न नदिने कानुनी व्यवस्था गरेर तीन ठूला दल आफैं प्रतिक्रान्तिको मतियार बनेको आरोप लगाउनु भयो ।

उहाँले दलीय चुनाव चिह्न संसद बाहिरका दललाई नदिने तीन ठूला दलको निर्णय तर्क संगत नभएको, लोकतन्त्र र संविधान प्रतिकूल रहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । संयोजक भट्टराईले दलीय पहिचाननै मेटाउने काममा ठूला दल लागि परेको आरोप पनि लगाउनु भयो ।

६८ दलले दलीय चुनाव चिह्न नपाएसम्म आन्दोलनलाई निरन्तरता दिईरहने चेतावनी समेत दिएका छन । उनीहरुले दलीय चुनाव चिन्हको माग गर्दै पहिलो चरणमा देशभरका निर्वाचन कार्यालय घेराउ गरेका थिए ।

स्थानीय तह निर्वाचन ऐनमा संसदमा नरहेका दललाई दलीय चुनाव चिह्न नदिने व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै ६८ दलले आफूहरुको माग सम्बोधन नभए आवश्यक्ता अनुसार प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँ बानेश्वरमा घेराउ गर्ने चेतावनी पनि दिएका छन ।

यता, निर्वाचन आयोगले भने संविधानको किटानी व्यवस्था अनुसार अघि बढनुपर्ने संवैधानिक बाध्यता बुझिदिन दलहरुलाई आग्रह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here