रिपोर्टर्स क्लबमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले यसो भने !

काठमाडौँ, १० जेठ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले विपक्षी दलप्रति असहिष्णु भई सर्वसत्तावादी व्यवस्था कायम गर्न लागेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “संविधानलाई आफू अनुकूल परिवर्तन गरी सर्वसत्तावादी व्यवस्था कायम गर्न सरकार उन्मुख रहेको देखिन्छ ।”

अध्यक्ष थापाले जनादेशअनुसार सरकारले अहिले मुलुकमा शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउने कार्यको थालनी गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधान र प्रजातन्त्रकै परिधिभित्र रही चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गर्ने प्रवृत्ति अहिले देखा परेको आरोप लगाउनुभयो ।

अबको दुईदेखि तीन वर्षभित्रै सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका पनि उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपा समूहबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आफू अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभयो ।

हालै सम्पन्न भएको पार्टीको केन्द्रीय परिषद्को तीन दिने बैठकले राजनीति तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षणसम्बन्धी कार्ययोजनालाई पारित गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले पार्टीले यही जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्नेे कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here