काठमाडौं,२८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनपछि पनि स्थानीय तहमा दरबन्दी रिक्त हुने देखिएकोले रिक्त हुने दरबन्दी संख्या मन्त्रालयमा उपलब्ध गराउन आग्रह गरेको छ ।
स्थानीय तहलाई मन्त्रालयले गरेको पत्राचारमा कर्मचारी समायोजन कार्य सकिँदा पनि रिक्त दरबन्दीमा पदपूर्ति नहुने देखिएकोले बाँकी रिक्त हुने पदमा कर्मचारी राख्न रिक्त पदको विवरण मागेको हो ।
’प्रदेश लोक सेवा आयोगको गठन नहुँदासम्म स्थानीय तहमा रिक्त हुने पदमा पदपूर्ति गर्न स्थानीय तहले मन्त्रालयमार्फत लोक सेवा आयोगमा माग पठाउनुपर्ने भएकोले विवरण मागिएको’ पत्रमा भनिएको छ ।
साविक स्थानीय सेवामा नियुक्त भई हाल स्थानीय तहमा कार्यरत तथा कर्मचारी समायोजनबाट गएका कर्मचारीको विवरण एकीन गरी रिक्त पदको विवरण मन्त्रालयमा पठाउन आग्रह गरेको शाखा अधिकृत किरण थापाले पठाएको पत्रमा उल्लेख छ । सरकारले ७५३ स्थानीय तहमा ६८ हजार कर्मचारी समायोजन गरी पठाउँदै छ ।

