काठमाडौं,११ चैत । नेपाल राष्ट्र बैंकले आज बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः आज बिल बिक्री गर्न लागेको हो ।
बैंकका अनुसार चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड रुपैयाँ बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले आज पाँच अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गरेको छ ।

