राष्ट्रिय सभामा ९९.५२ प्रतिशत मतदान, ८ जना अनुपस्थित

काठमाडाैं, २४ माघ – सात प्रदेशमध्ये ६ प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपूर्ण सहभागितामा मतदान कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ ।

बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य दिनको ३ बजे सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नुपरेन । कुल २ हजार ५६ जना मतदातामध्ये मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदातालाई मताधिकार प्राप्त थियो । सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार मतदानमा ९९.५२ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।

६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । जम्मा ८ जना मतदाता अनुपस्थित थिए । प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी २,०५६ मतदाता रहेका थिए । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

प्रदेश १ को दलित र अल्पसंख्यकमा एमाले उमेदवार विजयी
प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वीे नेपाली काँग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गर्नुभएको थियो । अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी हुनुभयो । बान्तवाले ६ हजार १३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गर्नुभएको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा माओवादी केन्द्रको एकजना निर्वाचित भएका छन् । यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी हुनुहुन्छ । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here