राष्ट्रिय महिला भलिबल पुसको अन्तिममा

काठमाडाैं,२० पुस । न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम सातामा हुने भएको छ। यही पुस २५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित न्यू डायमण्ड एकेडेमी, टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले सहभागिता जनाउनेछन्।

लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियागितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा न्यू डायमण्ड र चितवन, ‘बी’ मा टप्स र पारामाउन्ट, ‘सी’ मा आर्मी र पुलिस तथा ‘डी’ मा एपिएफ र जावलाखेल परेका छन् । प्रतियोगिताको विजेता टोलीले रु तीन लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुनेले एक लाख एक हजार प्राप्त गर्नेछन्। सर्वोकृष्ट एक खेलाडीले रु १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही पाँच हजार प्राप्त गर्नेछन्।

पुस २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल न्यू डायमण्ड एकेडेमीको भलिबल कोर्टमा आयोजना हुनेछ। प्रतियोगिता सञ्चालन गर्न नेपाल भलिबल सङ्घले १५ हजार सहयोग गर्ने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here