कञ्चनपुर,४ चैत– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन बिना निर्वाचन हुन सक्दैन भन्ने सोच हानिकारक भएको बताउनु भएको छ ।
मेची–महाकाली राष्ट्रिय अभियानको समापन घोषणा गर्न कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले चुनावबाट भाग्ने बहाना नखोज्न सत्तापक्षलाई चेतावनी दिनु भएको हो ।
अध्यक्ष ओलीले संविधान संशोधन बिना चुनाव हुन सक्दैन भन्ने सोच हानिकारक भएको भन्दै संशोधन विधेयक नै फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । एमालेले निर्वाचनको मिति घोषणा भइसकको अवस्थामा सरकारले आचारसंहिता विपरित जथाभावी बजेट रकमान्तर गर्ने तथा कार्यकर्तालाई नियुक्ति तथा राज्यको ढुकुटी रित्याउने काममा लागेको भन्दै आपत्ति जनाएको छ ।
साथै मेची–महाकाली राष्ट्रिय अभियानमा पार्टीलाई अपार माया र विश्वास प्रकट गर्ने आम जनसमुदायप्रति आभार प्रकट गरेका छन् । अध्यक्ष ओलीले अभियानलाई सफल पार्न सहयोग गर्ने सहभागी सबै नेता–कार्यकर्ताहरूलाई धन्यवाद दिनु भएको हो ।

