काठमाडाैं, २४ माघ – राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको ६ वटै प्रदेशमा मतदान सकिएको छ । प्रदेश नम्बर २ बाहेक आज निर्वाचन भएका प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान सकिएको हो ।
आज सम्पन्न निर्वाचनमा कुन प्रदेशमा कस्तो अवस्था रह्यो ?
प्रदेश १ मा शतप्रतिशत मतदान
प्रदेश नम्बर १ मा शतप्रतिशत भएको छ । यो प्रदेशमा दिउँसो १ बजे नै मतदान सकिएको थियो । प्रदेशमा स्थानीय तहका २ सय ७४ र प्रदेशसभाका ९३ गरी कुल ३ सय ३७ मतदाता थिए । यहाँ महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध भइसकेका थिए । त्यसैले दलित १ र अपांगतारअल्पसंख्यक १ गरी २ पदका लागि निर्वाचन भएको थियो । यहाँ ४ जना प्रतिस्पर्धी थिए ।
प्रदेश २ मा मतदान नै भएन
निर्वाचन अघि नै ८ वटै पदमा निर्विरोध भएका कारण यो प्रदेशमा निर्वाचन भएन ।
प्रदेश ३ मा शतप्रतिशत मतदान
प्रदेश ३ का कुल ३ सय ४८ जनाले नै मतदान गरेका छन् । यो प्रदेशमा स्थानीय तहका २ सय २३ र प्रदेशसभाका १ सय १० सदस्य नै मतदान गरेका हुन् । प्रदेश ३ मा ८ वटै पदमा निर्वाचन भएको थियो। यो प्रदेशमा १४ जना प्रतिस्पर्धी थिए ।
प्रदेश ४ मा मतगणना सुरु
राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ४ मा मतदान सकिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए । निर्वाचन आयोगका अनुसार एक भोट मात्र खसेन । प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका छन् । ५ वर्ष जेल सजाय गर्ने पुरानावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार उनले सपथ नै लिएका छैनन् । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेबाट मतगणना शुरु भएको छ ।
प्रदेश ५ मा नतिजा आजै
प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम बुधबार नै राति १० बजेसम्म आउने भएको छ । तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् ।
प्रदेश ६ मा सतप्रतिशत मतदान
प्रदेश ६ मा राष्ट्रिय सभा सांसदका लागि मतदान सम्पन्न भएको छ । अस्थायी मुकाम सुर्खेतको वीरेन्ऽनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो । यहाँ सतप्रतिशत मतदान भएको छ । प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन् ।
खुला र महिला ३-३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एकरएक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् । जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।
प्रदेश ७ मा राजपा सांसदले भोट हालेनन्
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश ७ मा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले भोट हालेनन् । दुई जना सांसद रहेको राजपाका सांसदले बुधबार भएको मतदानमा सहभागी भएनन् । कैलालीबाट चुनाव जितेका कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश ७ मा २ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।

