राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाटःआयुक्त इला शर्मा

काठमाडौं,२२ असोज । निर्वाचन आयुक्त इला शर्माले संविधानको भावनाअनुसार राष्ट्रियसभालाई समानुपातिक र समावेशी बनाउन एकल संक्रमणीय मत प्रणालीबाट सदस्य चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचनमा समावेशी प्रतिनिधित्वका लागि उम्मेदवारको बन्दसूची पेस गर्दा आवश्यक ध्यान पु¥याउनसमेत सुझाव दिनुभयो ।

आयुक्त शर्माले भन्नुभयो, “राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल संक्रमणीय व्यवस्थाअनुसारको राष्ट्रियसभाको कानून संसद्बाट पारित होस् भन्ने हाम्रो आग्रह हो । स्थानीय तहदेखि माथि राष्ट्रियसभासम्म नै संविधान र लोकतन्त्रको मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेन भने संविधानको भावना नसमेटिन सक्दछ ।”

उहाँले भन्नुभयो – “समानुपातिक निर्वाचन प्रणालीमा महिला तथा अरु समावेशी समूहको समानुपातिक प्रतिनिधित्व गराउनु अनिवार्य रहेको छ । नेपालले अपनाएको समानुपातिक समावेशी सिद्धान्त विश्वले नै उदाहरणीयरुपमा लिएको छ । आगामी प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनमा पनि त्यो समावेशी प्रतिनिधित्व देखिनुपर्छ ।”

आयुक्त नरेन्द्र दाहालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्दा आउनसक्ने अस्पष्टतालाई प्रशिक्षणले सहज तुल्याउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here