राष्ट्रियसभाः‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप विधेयक पारित

web

काठमाडौँ, १७ असार-राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सो विधेयक पारितका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाको आजको पहिलो बैठकमा सो विधेयक पारित भएको हो ।

आजको दोस्रो बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७५’ सहित तीन विधेयक प्रस्तुत भएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५’, कानूनमन्त्री तामाङले ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको थियो । यी विधेयकमा संशोधनका लागि सोमबार १२ बजेसम्मको लागि समय दिइएको छ । ती विधेयकमा संशोधनका लागि दिइने समय छोट्याउन बैठकमा अध्यक्ष गणेश तिमसिल्नाले राख्नुभएको नियम निलम्बनको प्रस्ताव बैठकले पारित गरेको थियो ।

पहिलो बैठकमा सभामा सचिव राजेन्द्र फुयाँलले ती विधेयक टेबुल गर्नुभएको थियो । सभाको अर्काे बैठक यही असार १८ गते सोमबार मध्याह्न १२ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here