राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्षमा नेपाल पहिलो पटक नियुक्त

काठमाडौं, ११ वैशाख । संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल नियुक्त भएको छ । महासभाले सन् २०१८ को लागि नेपाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् । हालै महासभाको सदस्य राष्ट्रमा सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि नेपाल नियुक्त भएको थियो । छ सदस्य राष्ट्रमध्ये नेपालले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दछ । महासभाअन्तर्गतको सम्मेलन समिति सन् १९७४ मा स्थापना भएको थियो । यस समितिले संयुक्त राष्ट्रसंघको सचिवालयलाई परामर्श दिने काम गर्दछ । साथै बिभिन्न बैठक, सभा सम्मेलन आयोजना गर्ने, सम्मेलनको मस्यौदा तयार पार्ने, वार्षिक रुपमा महासभामा रिपोर्ट पेस गर्ने काम समितिले गर्दछ ।

२१ सदस्यीय समितिमा हंगेरी, गायाना र अमेरिकाका प्रतिनिधि उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए । यस्तै लाइबेरिया पाँच अलग भौगोलिक क्षेत्रको लागि दूतको रुपमा चुनिएको थियो । नेपालले विगतमा धेरैपटक समितिको सदस्यको रुपमा काम गरेको थियो । तर नेपाल अध्यक्षमा चुनिएको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here