राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकाल…

काठमाडौं,१८ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन्– भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् ।

तर चीन भ्रमणको अवसर जुरेन । यसमा भण्डारीले छिटोछिटो सरकार परिवर्तनलाई प्रमुख कारण ठानेकी छन् । आफ्नो सल्लाहकार समूह र निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा उनले यस्तो धारणा राख्दै आएकी छन् ।

उनीअघिका राष्ट्रपति रामवरण यादवले दुईपटक चीन भ्रमण गरे, तर राजकीय नभई सांघाई एक्स्पो र बोआओ फोरममा सहभागी हुन । दुईपक्षीय सम्बन्ध र कूटनीतिमा निकै चासो राख्ने राष्ट्रपति भण्डारीले साना–साना विषय पनि उठाउने गरेकी छन् । राजदूतसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै उनीहरूलाई नेपालमा भएको प्रगति सुनाउँछिन् ।
उनीहरूको चासो बुझछिन् । उनले छिमेकी चीन र भारतका कुनै कार्यक्रमलाई बेवास्ता गरिनन् । चीन भ्रमण नगरे पनि चिनियाँ सरकारको कार्यक्रम आफ्नै कार्यालयमा गर्न दिइन् । शीतलनिवासमै चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक विमोचन गरिएको थियो । उनकै पालामा राजदूतहरूलाई बग्गीमा ल्याएर ओहदाको प्रमाणपत्र बुझ्न थालियो ।
रक्षामन्त्री भइसकेको अनुभवले हुन सक्छ, भण्डारीले सैन्य कूटनीतिलाई पनि जोड दिँदै आएकी छन् । विश्व शान्ति मिसनमार्फत सेनाले नेपालको कूटनीति अघि बढाउँदै गएको उनको बुझाइ छ । आगामी दुई सातापछि कार्यकाल सकिने भए पनि उत्तिकै सक्रिय छिन् । कतिपयले उनलाई फेरि पनि ‘राष्ट्रपतिको दाबेदार’ का रूपमा व्याख्या गरिरहेका छन् । पछिल्लो समय राष्ट्रिय सभा सांसद मनोनयनको विषयबाहेक उनी खासै विवादमा परेकी छैनन् । उक्त विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन छ ।
उनले राष्ट्रपतिका रूपमा सबै भाषा, संस्कृतिलाई बढावा दिने कामसमेत गरेको सल्लाहकार समूहले जनाएको छ । ‘राष्ट्रपति भण्डारी कूटनीतिक मामिलामा निकै सचेत देखिनुहुन्छ, उहाँले नेपालीलाई नै छलफलको भाषा बनाउनुभयो, दोभासेमार्फत विदेशीसँग स्पष्ट गरी आफ्नो धारणा राख्नुहुन्छ,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. मदन भट्टराईले भने । अन्तर्राष्ट्रिय मञ्चमा पनि राष्ट्रपतिले नेपाली भाषामै सम्बोधन गरिन् ।
झट्ट हेर्दा भाषण सल्लाहकार समूहले तयार पारेजस्तो लागे पनि अधिकांश धारणा राष्ट्रपतिकै हुने समूहले जनाएको छ । उनले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा नेपाली महिलाको सशक्तीकरण र संविधानका विषयमा आफ्नो धारणा राख्दै आएकी छन् ।
त्यसमा विशेषत: योगमाया न्यौपानेले विसं १९९८ मा ‘जल समाधि’ लिएको विषय छुट्दैन । राणाशासकले महिलामाथि गरेको ज्यादतीप्रति विरोधजनाउँदै योगमाया ६८ महिलासहित सामूहिक रूपमा नदीमा हाम फालेको घटनापछि नेपालमा महिला सशक्तीकरण अभियान बलियो बनेको भण्डारीले विदेशीलाई बुझाउँदै आएकी छन् ।
२८ महिनायता चारपटक प्रधानमन्त्री फेरिए । भण्डारीले राष्ट्रपति पद सम्हाल्दा केपी ओली प्रधानमन्त्री थिए । त्यसपछि पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै अहिले फेरि ओली मुलुकको प्रमुख कार्यकारी पदमा छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि चार मन्त्री र दुईपटक प्रधानमन्त्रीले लिएकाले ६ पटक हेरफेर भइसकेको छ । यस्तो अवस्थामा पनि राष्ट्रपतिका चार महत्त्वपूर्ण भ्रमण हुनुलाई स्वाभाविक मानिएको छ ।
यूएई भ्रमणलाई अस्वाभाविक भनिए पनि त्यहाँ ठूलो संख्यामा नेपाली समुदाय रहेकाले भ्रमण महत्त्वपूर्ण बनेको सल्लाहकार समूहको दाबी छ । तीनै तहको निर्वाचन सफल हुँदा सबैभन्दा खुसी देखिएकी राष्ट्रपति राष्ट्रिय गौरवको परियोजना, विभिन्न ठूला आयोजना, भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नपाएकोमा निकै दु:खी छिन् । यसबारे उनले सम्बन्धित निकायका प्रतिनिधि बोलाएर पटकपटक घचघच्याएकी पनि छन् । राष्ट्रपति हुनुअघि भण्डारी वातावरण र रक्षामन्त्रीसमेत भएकी थिइन् ।
तत्कालीन एमाले महासचिव स्व. मदन भण्डारीकी पत्नी उनले खास गरी संस्थागत सुझावका आधारमा आफ्नो काम अघि बढाइन् । जिल्ला भ्रमणमा जाँदा आफ्नै कारण सडक रोकिएर जनतालाई असुविधा नहोस् भनेर पहिले नारायणहिटीस्थित हेलिप्याड र आठ महिनायता भैरवनाथ गणको हेलिप्याडबाट जाने गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मुलुकका सबै पक्ष समेटेर एकताको सन्देश दिन खोजेको सल्लाहकार समूहको दाबी छ । स्वास्थ्य धेरै राम्रो नभए पनि स्वस्थ व्यक्तिकै जसरी खटिइरहेकी छन् । निर्वाचनको माहोल मिलाउन उनले मधेसी दलका नेतालाई कार्यालयमै बोलाएर छलफल चलाइन् । आजको कान्तिपुरमा खबर छ ।
राष्ट्रिय दिवसदेखि अन्य समारोहमा विदेशीलाई बोलाएर गरेका छलफल पनि मुलुकको हितमै केन्द्रित रहे । भण्डारीको यसबीचका सबै सरकारसँग राम्रै सम्बन्ध रह्यो । स्वास्थ्य र शिक्षासँगै नेपालको भूराजनीतिक सन्तुलनमा उनको जोड रहेको सल्लाहकार भट्टराईले बताए । राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोत साधनको उपयोग मात्र होइन, नेपालमा पर्यटक भित्र्याउनुपर्नेमा पनि जोड दिँदै आएकी छन् ।
विदेशमा रहेका नेपालीका दु:ख बुझी उनीहरूका समस्यासमेत सम्बोधन हुनुपर्ने उनको धारणा छ । नेपालको संस्कृति र पुरातत्त्वबारे विदेशीसम्म अझै पर्याप्त जानकारी पुग्न नसकेको राष्ट्रपतिले बताउने गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here