राष्ट्रपति भण्डारी चीन भ्रमणमा, यस्ता छन् कार्यक्रमहरु

काठमाडौं,११ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज उत्तरी छिमेकी चीन प्रस्थान जानुहुने भएको छ ।  बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।

गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ । राष्ट्रपति भण्डारी आज बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीन जानुहुने छ ।
भ्रमणका क्रममा उहाँ एक दिन सान्सी प्रान्तमा बस्ने कार्यक्रम रहेको छ । उहाँ त्यसको भोली पल्टमात्रै बेइजिङ पुग्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नुहुने छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ ।
राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीका अनुसार सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् । नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ ।

तर अन्तिम रूप पाएको छैन । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकास लगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
सम्मेलन सकिएको भोलिपल्ट आइतबार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ । दुई नेताबीच बीआरआई अभियानमा सहभागिता जनाएपछि दुई मुलुकबीच बढेको गतिविधि र पहिले भएका सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ ।

यस्तै चिनियाँ उच्च नेतृत्वलाई नेपाल भ्रमणको प्राथमिकतामा राखेर कुराकानी हुनेछ । राष्ट्रपति चीनमा रहदा बेइजिङ आयोजना हुने हर्टिकल्चर एक्स्पो उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै राष्ट्रपतिले नेपाली र चिनियाँ व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी सम्मेलन सकिएपछि ल्हासा हुँदै वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here