काठमाडौ, २७ साउन: नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्घा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक आधारपत्र हस्तान्तरण गरियो ।
राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित कार्यक्रममा रामप्रसाद राई स्मृति प्रतिष्ठान तथा रामप्रसाद राई फाउण्डेसनका तर्फबाट अध्यक्ष क्रमशः तारादेवी राई र सुष्मा राईले विज्ञ समूहद्वारा तयार गरिएको सो आधारपत्र राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।
विज्ञसमूहका तर्फबाट संयोजक प्रा डा गोविन्दमान सिंह कार्कीले लामो अध्ययन अनुसन्धानपछि विभूति घोषणा गर्नुपर्ने आधारपत्र तयार गरिएको जानकारी दिनुभयो । विज्ञसमूहमा रामप्रसाद राईबारे अनुसन्धान गर्नुहुने जय शिवाहाङ राई तथा भोगीराज चाम्लिङ हुनुहुन्थ्यो ।
क्रान्तियोद्धा रामप्रसाद राईले पूर्व ४ नं भोजपुरमा जनसेना संगठित गर्नुभई सर्वप्रथम भोजपुर कव्जा गरी क्रमशः संखुवासभा, तेह्रथुम, धनकुटाका साथै पश्चिमतर्फ खोटाङ, ओखलढुंगा कब्जा गर्दै काठमाडौँ सम्म आइपुगेपछि नै २००७ सालमा प्रजातन्त्र प्राप्ति सम्भव हुन गएको आधारपत्रमा उल्लेख गरिएको छ ।

