रामचन्द्र पौडेलले भनेःगंगामायाको मागप्रति सरकार गम्भीर हुनुपर्छ

काठमाडौँ, १९ असार- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गंगामायाको मुद्दालाई सरकारले बेवास्ता गर्नु दुःखद् भएको बताउनुभयो ।

आज वीर अस्पतालमा पुगी आमरण अनशनमा रहनुभएकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेता पौडेलले “गंगामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, छोराको हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै निरन्तर अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो,” भन्नुभयो । उहाँले गंगामायाको माग सरकारले नसुने जनस्तरमा लैजानुपर्ने बताउनुभयो ।

गत जेठ १५ गतेदेखि वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएकी गंगामायाको स्वास्थ्य दिन प्रतिदिन गम्भीर बन्दै गएको छ ।

अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था थप बिग्रिएको जानकारी दिनुभयो । “अवस्था पहिलेभन्दा गम्भीर छ,” निर्देशक बस्नेतले भन्नुभयो, “शरीर सुनिंदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको छ ।”

विसं २०६१ जेठ २४ जेठ उहाँका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । हत्या आरोपीको नाम किटानीसहित उनीहरुविरुद्ध २०७० चैत ३० देखि चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र आफूले न्याय नपाएको गंगामायाले गुनासो गर्दै आउनुभएको छ ।

छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनशन बस्नुभएको थियो । गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनको ३३४औँ दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here