काठमाडौँ,२६पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । राप्रपाले विगतका वर्षझैं यसपटक राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा पौष २७ गते भोलि (शुक्रबार) चियापान समारोहको आयोजना गरेको हो ।
राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा हुने चियापानका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि दश हजार कार्ड वितरण गरिएको जनाएको छ ।
अपरान्ह एक बजेदेखि तीन बजेसम्म हुने चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग माग समेत गरेको छ । राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।

