महेन्द्रनगर,३ भदौं–राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताउनुभएको छ ।
बाढी पीडितका लागि राहत वितरण गर्न धनुषाको महेन्द्रनगर पुगेका नेता महतोले सञ्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन विधेयकमाथि पर्सि सोमवार संसदमा हुने मतदानमा सहभागी हुन सबै दललाई आग्रह गर्नुभयो ।
संसदमा अहिले दफावार छलफलका क्रममा रहेको संशोधन विधेयक सरकारले आगामी सोमवार निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ ।
नेता महतोले मधेसका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो । राहतका लागि राजपाले २६ अर्ब रुपैयाँ माग गरेपनि सरकारले एक अर्ब मात्र निकासा गरेको बताउदै उहाँले सो रकम समेत सम्बन्धित जिल्लामा पुग्न नसकेको दावी गर्नुभयो । राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने महतोको भनाई छ ।

