काठमाडौं, ३० जेठ । आन्दोलन तर राष्ट्रिय जनता पार्टी चुनाव विथोल्ने गरी आन्दोलनमा उत्रिएपछि असार १४ मै निर्वाचन गराउने कि ? सार्ने भन्नेमा सत्तारुढ दलहरु द्वविधामा परेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज साँझ बसेको प्रमुख दलको बैठकमा सत्तारुढ दलले राजपा चुनावमा आउने लिखित सहमति गर्न तयार हुने हो भने निर्वाचनमा मिति हेरफेरमा लचिलो हुनसक्ने संकेत सत्तारुढ दलले गरेका हुन् । तर, सत्तारुढको तयारीप्रति एमाले असहमत छ ।
सत्तारुढ प्रमुख दल कांग्रेसका मधेसी नेताहरुले स्थिति अहसज हुने बिष्लेषण गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य राजनीतिक दलरुको मनस्थिति बुझ्न आज साँझ सिंहदरबार बैठक राखेका थिए । त्यहाँ चुनाव सार्ने औपचारिक प्रस्ताव कसैले नराखेको नेताहरुले बताएका छन् ।
प्रतिपक्षी एमालेले भने कुनै हालतमा चुनाव रोक्न नहुने धारणा अघि सारेको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलहरुले चुनाव सार्ने दिशामा जान खोजेको जस्तो देखिएको एमाले अध्यक्ष केपी ओलीले बताउनुभयो ।
माओवादी नेता वर्षमान पुनले भोली बुधबार साँझ बस्ने बैठकमा राजपा चुनावमा आउन सहमत भए सबै विषयमा पुनर्विचार गरिने बताउनुभयो ।

