काठमाडाैं, ५ पुस । देशमा जारी राजनीतिक गतिरोधको अन्त्यका लागि वामगठन्धन र राष्ट्रपतिबीच छलफल भएको छ ।
आज मध्यान्ह सम्पन्न छलफलमा क्रममा राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेशमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गर्नु भएको छ ।
राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश प्रमाणीकरण गर्न सरकारले दवाव दिईरहेका बेला बाम गठबन्धनका शिर्ष नेताद्धय ओली र दाहालसँग सामूहिक भेट गरी राष्ट्रपति भण्डारीले अध्यादेशमा देखिएको विवाद तत्काल समाधान हुने गरी पहल गरिदिन आग्रह गर्नु भएको हो ।
राष्ट्रपति भवन सितल निवासमा करिव २ घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ पनि दुवै नेताको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।
राष्ट्रपतिले अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढन बाम गठबन्धन दुवै नेतालाई एकैसाथ राखेर ध्यानाकर्षण गराउनु भएको राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनु भयो ।
राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि ऐन पारित हुन नसक्दा निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या समेत तय गर्ने प्रक्रिया अघि बढाउन सकेको छैन ।
यसै विषयमा गत शनिवार राष्ट्रपति भण्डारीसँग भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश तत्काल प्रमाणीकरण गर्न आग्रह गर्नु भएको थियो ।
यता, एमालेले भने एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउने व्यवस्थासहित सरकारले तयार पारेको अध्यादेश संविधान विपरित भएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने तर्क गर्दै आएको छ ।
एमाले र माओवादी केन्द्रले बहुमतीय प्रक्रियाबाट मात्रै राष्ट्रिय सभाको निर्वाचन गराउनुपर्नेमा जोड दिएपछि संसदबाट समेत यो विधेयक पारित हुन सकेको थिएन ।

