काठमाडौं,१२ जेठ । राजधानीमा आज दिउँसो भएका दुई विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको छ। घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुकेधारा विस्फोटका घाइतेको ओम असप्तालमा उपचारका क्रममा मृत्यु भएको छ। अन्य चार घाइतेको भने चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
घट्टेकुलोस्थित एक घरमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यका अनुसार उक्त विस्फोटमा एकजना घाइते भएका छन्। घाइते रवीन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घाइते केसी त्रिचन्द्र क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका इकाइ सभापति भएको खुलेको छ।

