राजधानीको माग गर्दै विराटनगर बन्द, प्रदेश नम्बर १ को प्रदेशसभा बैठक बस्दै

विराटनगर,२३ बैशाख ।  प्रदेश १ को राजधानीका संरचना विकेन्द्रीत रूपमा राख्न खोजेको भन्दै विराटनगर कायम गर्ने माग सहित आज विराटनगर महानगरपालिकामा बन्द आह्वान गरिएको छ । बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।

यतायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्थाहरूले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् । प्रदेशसभामा हिजो दर्ता भएको राजधानी बारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिएपनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्र अन्तर्गतका इटहरी, सुन्दर हरैंचा लगायत स्थानमा राख्नुपर्ने भनिएको थियो ।

यसले गर्दा विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आह्वान गरिएको हो ।  महानगरपालिकाको अनुवाइमा हिजो अबेरसम्म बसेको सर्वदलीय बैठकले दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको थियो ।

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दै छ । स्थायी राजधानीकालाई हिजो चारवटा प्रस्ताव दर्ता भएपछि थप छलफल गर्न आज बिहान ११ बजे बैठक बोलाइएको प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेश १ को स्थायी राजधानीका लागि विराटनगर र धनकुटाको पक्षमा दुईरदुई प्रस्ताव दर्ता भएका छन् । सहमतिका आधारमा राजधानी घोषणा गर्ने प्रदेश सरकारको प्रयास असफल भएपछि प्रस्ताव दर्ता भएका हुन् ।

राजधानीको विषयमा एउटै दलभित्र पनि मत बाझिएपछि अलगअलग प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ नेकपाले प्रस्ताव दर्ता गर्नुअघि सांसदमाथि ह्विप जारी गरे पनि धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदले अलग्गै प्रस्ताव दर्ता गराएका थिए ।

आजको बैठकमा राजधानीको विषयले प्रवेश पाउने नपाउने भने अझै अन्योल रहेको सांसदहरुको भनाई छ । सुनसरीको धरान उपमहानगरलाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा विरोध प्रदर्शन जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here