रसुवामा गएको पहिरोमा घर पुरिदा ४ जना बेपत्ता, ४ घाइते

रसुवा, २३ साउन–  रसुवाको उत्तरगया गाउँपालिकामा पहिराले घर पुरिंदा ४ जना बेपत्ता भएका छन् । उत्तरगया गाउँपालिका–४ पहिरेबेंसीमा गएराती खसेको पहिरोले धर्मराज थापा मगरको घर पुरिंदा ४ जना वेपत्ता भएका हुन् ।

पहिरोमा परी ७२ वर्षका धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षका मुना थापामगर, ३ वर्षका नाती रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षका भक्तबहादुर नगरकोटी हराइरहेको रसुवा प्रहरीले जनाएको छ ।

माथिबाट निरन्तर पहिरो झर्नेक्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाई भएको छ । पहिरोमा परी चार जना घाइते भएका छन । घाइते मध्ये रुद्र थापामगर र देवकी थापामगरको अबस्था गम्भीर छ ।
यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुईवटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here