यूएईमा भएकाे बस दुर्घटनामा २ नेपाली कामदारको मृत्यु, ६ घाइते

एजेन्सी–संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बस दुर्घटना हुँदा २* नेपाली कामदारको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा वासुदेव लामिछाने र चितवनका कृष्णप्रसाद भुसाल छन् । घाइते हुनेमा चारआली झापाका २८ वर्षीय हरि धिमाल, पथरी, मोरङका २४ वर्षीय सागर पराजुली, तनहुँका ३० वर्षीय धनबहादुर गुरुङ, जुगेडी चितवनका २३ वर्षीय टेकप्रसाद गुरुङ, विराटचोक, मोरङका २२ वर्षीय खेमराज कटुवाल र निजगढका २२ वर्षीय गुनाबहादुर अधिकारी छन् । घाइतेको अल जहरा अस्पताल, साउदी जर्मन अस्पताल र न्यु मेडिकल सेन्टरको सघन कक्षमा उपचार भइरहेको छ । उनीहरूको टाउको, छाती र खुट्टामा चोट लागेको छ ।

ट्रान्सगार्ड समूहमा कार्यरत सुरक्षा गार्ड बोकेको बस मोहमद विन जायद र शेख जायद रोड बीचको अल यालाइस सडकखण्डमा मंगलबार दुर्घटना भएको थियो । रात्रिकालीन ड्युटी सकेर उनीहरूलाई क्याम्पमा लैजाने क्रममा बसको टायर पड्किँदा सडकको बीचमा राखिएको बारलाई नाघ्दै ट्रकलाई ठक्कर दिन पुगेको ट्राफिक विभाग, दुबईका निर्देशक  सेफ मुहैर मिजरुहीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

प्रहरीले बसभित्र च्यापिएका २२ जनालाई उद्धार गरेको थियो । त्यसमा नेपाली, पाकिस्तानी र भारतीय नागरिक थिए । नेपाली दूतावासमा द्वितीय सचिव कृष्ण अर्याल र श्रमसहचारी हीरादेवी यादवले अस्पतालमा पुगी घाइतेको अवस्थाबारे जानकारी लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here