काठमाडौं, १० चैत – माओवादी केन्द्रले प्रदेश ईञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले प्रदेश ईञ्चार्ज हेरफेर गरेको प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।
भूसालका अनुसार प्रदेश नम्बर १ को ईञ्चार्जमा राम कार्की, प्रदेश नम्बर २ को ईञ्चार्जमा विश्वनाथ साह, प्रदेश नम्बर ४ को ईञ्चार्जमा हितराज पाण्डे, प्रदेश नम्बर ५ को ईञ्चार्जमा मणि थापा र प्रदेश नम्बर ६ को ईञ्चार्जमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । पार्टी एकताविरोधी गतिविधि गरेको भन्दै प्रदेश नम्बर १ का ईञ्चार्ज गोपाल किरातीलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरेको थियो । २ का ईञ्चार्ज मातृका यादव मन्त्री हुनुभएको छ । ४ ईञ्चार्ज देव गुरुङ प्रमुख सचेतक हुनुभएको छ भने ५ का ईञ्चार्ज वर्षमान पुन र ६ का ईञ्चार्ज शक्ति बस्नेत मन्त्री भएपछि जिम्मेवारी हेरफेर गरिएको हो ।
बैठकमा एमालेसँगको पार्टी एकताबारे छलफल भएको भूसालले बताउनुभयो । ‘पार्टी एकताका लागि आन्तरिक तयारी पूरा गर्ने र सकेसम्म छिटो एकता गर्नेबारे पनि छलफल भएको छ,’ उहाँले भन्नुभयो । साथै बैठकले समभव भएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै पार्टी एकता गर्नेबारे छलफद गरेको छ ।

