यातायात विभागका तत्कालीन महानिर्देशक श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ,२५पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिवको रुपमा कार्यरत रहेका श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा अवैध रुपमा आर्जन गरेको अख्तियारले दाबी गरेको छ ।

२८ माघ २०३८ देखि सार्वजनिक सेवा प्रवेश गरेका श्रेष्ठले तलवलगायत अन्य स्रोतबाट २ करोड १० लाख ७७ हजार ४ रुपैयाँ १६ पैसा आयआर्जन गरेको अख्तियारले जनाएको छ । तर, उक्त अवधिमा श्रेष्ठ र उनको परिवारका सदस्यहरुका नाममा आम्दानीभन्दा बढीको चल अचल सम्पत्ति सिर्जना तथा विभिन्न क्षेत्रमा खर्च भएको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आयको तुलनामा उनले खर्च गरेकोमध्ये १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बराबरको अवैध सम्पत्ति देखिएकाले अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले श्रेष्ठबाट १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बिगो र सोहीअनुसार जरिवाना तथा कैद सजाय माग गरेको छ ।

श्रेष्ठले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती जमुना तण्डुकार र नवलपरासीको स्वाठी बस्ने भगवती योगको नाममा राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । अख्तियारले श्रेष्ठकी श्रीमती जमुना र भगवती योगीविरुद्ध पनि मुद्दा दायर गर्दै उनीहरुका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here