भक्तपुर, २० मंसिर-यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरिएको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ द्रोण पोखरेलले जिल्लामा छिटफुट घटना भए पनि तीन चरणमा सुरक्षाको व्यवस्था गरिएको ेबताउनुभयो । मतदानस्थल एवं मतदान केन्द्रमा आवश्यकतानुसार सुरक्षाकर्मीको व्यवस्था गरिएको र प्रत्येक मतदानस्थलमा कुनै पनि घटना भएमा पाँच मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी सुरक्षाको व्यवस्था गरिएको उहाँले मंगलबार बताउनुभयो ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तैनाथ हुनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । निर्वाचनमा चार वटै सुरक्षा निकायका दुई हजार दुई सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ भएको बताइएको छ ।
त्यसैगरी मतदानस्थलमा आवश्यक कर्मचारी खटिइसकेका छन् । कूल दुई हजार ५०४ कर्मचारीलाई निर्वाचनमा खटाइएको छ । भक्तपुरका ७८ मतदानस्थलमा २०९ मतदान केन्द्र छन् । तीमध्ये ३४ मतदानस्थल संवेदनशील छन् ।
जिल्लामा कूल एक लाख ७८ हजार ९५ जना मतदाता छन् । सोअनुसार निर्वाचन क्षेत्र नं १ मा ९४ हजार १६४ र क्षेत्र नं २ मा ८३ हजार ९३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) मा ४३ हजार ५५२ र प्रदेश नं (ख) मा ५० हजार ६१२ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) मा ४४ हजार ८९ र प्रदेश (ख) मा ३९ हजार ८४६ मतदाता छन् ।

