म्याग्दी, २२ फागुन-संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनाँै हिमशृङ्खला रहे पनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाका रुपमा सूचीकृत गरिएका कारण हिमाली जिल्ला बनाउन माग गर्ने निर्णय गरेको हो ।
जिल्लाको बढी भूभाग हिमक्षेत्रभित्र पर्ने भए पनि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची–१ मा म्याग्दीलाई पहाडी जिल्लाका रुपमा राखिनु त्रुटिपूर्ण रहेकाले हिमाली जिल्लामा समावेश गर्न सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । “हिमालै हिमालले घेरिएको जिल्लाको वास्तविक पहिचान नै ओझेलमा परेको छ, जिल्लाको हिमाली पहिचान खोसिँदा विकास निर्माणदेखि राज्यका महत्वपूर्ण अवसरबाट समेत वञ्चित हुनुपर्ने विडम्बनाको अन्त्य गर्न पहल गरेका छौँ,” जिसस प्रमुख केसीले भन्नुभयो ।
उहाँले हिमाली जिल्ला कायम गराउने मागलाई प्रदेशसभा र प्रतिनिधिसभा हुँदै सरकारसमक्ष पेश गरिने बताउनुभयो । गत भदौमा सरकारले चार जिल्लालाई हिमाली जिल्लामा समावेश गरेको थियो । सोह्र वटा जिल्ला हिमाली जिल्लामा रहेकामा स्थानीय तहको शासन सञ्चालनसम्बन्धी विधेयकमा पहाडी जिल्लाको सूचीमा रहेका गोरखा, धादिङ, रामेछाप र पूर्वी रुकुमलाई हिमाली जिल्लामा वर्गीकरण गरिएसँगै अहिले हिमाली जिल्लाका रुपमा २० जिल्ला सूचीकृत छन् ।

