मौसमसम्बन्धी सूचना लिन उच्च प्रविधि जडान हुदै

काठमाडौँ, चैत १० गते ।  नेपाल एक वर्षभित्र विश्वका अन्य मुलुकसरह मौसमसम्बन्धी सम्पूर्ण जानकारी दिनसक्ने प्रविधिमैत्री मुलुकका रूपमा विकास हुने भएको छ ।  मानव स्वास्थ्य, पर्यटन क्षेत्र, हवाई उड्डयन, कृषिप्रविधि, ऊर्जा तथा भौतिक पूर्वाधार, रहनसहन तथा मानव सभ्यतासँग प्रत्यक्ष सम्बन्ध रहने मौसमसम्बन्धी सम्पूर्ण जानकारी प्रवाह गर्ने संयन्त्र नहुँदा यी क्षेत्र प्रभावित भइरहेको अन्तर्राष्ट्रिय मञ्चमा टिप्पणी भइरहेका बेला नेपालले आफूलाई उच्च प्रविधिमा रूपान्तरण गर्न थालेको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार आगामी एक वर्षभित्र सम्पन्न गर्ने गरी मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने तीनवटा मौसमी राडार जडान गर्ने प्रक्रिया सुरु भइसकेको छ ।  पश्चिम क्षेत्रको सुर्खेत, मध्यको पाल्पा र पूर्वको उदयपुरमा राडार जडान गरी नेपालभरको मौसमी यथार्थ विवरणको जानकारी लिन सकिने उहाँले बताउनुभयो ।
महानिर्देशक डा. शर्माले भन्नुभयो, “तीनवटा मौसमी राडार जडान भएपछि नेपालको पूरै आकाश स्क्यानिङ हुनेछ र त्यसले बादलको अवस्था, पानी पर्नुपहिले कति मात्रामा पानी पर्न सक्छ भन्ने पूर्वानुमानको सूचना, हावाको वेग तथा दिशा, आकाशको तापक्रम, कुन स्थानमा कति वर्षा, असिना तथा हिमपातबारे सम्पूर्ण जानकारी पहिले नै प्राप्त गर्न सकिनेछ । ”
तीनवटा राडार स्थापनाका लागि ६० करोड रुपियाँभन्दा बढी लागत लाग्ने बताइएको छ ।  त्यसैगरी विभागले नेपालका विभिन्न नौवटा स्थानमा चट्याङ स्टेसन निर्माण गरी नेपालमा चट्याङ नेटवर्कको निर्माण गर्न थालेको छ ।
विभागका उपमहानिर्देशक सरजु वैद्यका अनुसार धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, भैरहवा, काठमाडौँ, सिमरा, तुम्लिङटार र विराटनगरमा ती स्टेसन निर्माण गरिने भएका छन् ।  ती स्टेसन आगामी छ महिनाभित्र निर्माण गर्ने लक्ष्य विभागले लिएको छ ।  हाल नेपालका विभिन्न १६ वटा विमानस्थलमा मात्र सीमित क्षेत्रको आकाशमा भए, गरेका गतिविधिबारे थाहा पाउने यन्त्रको माध्यमबाट सूचना सङ्कलन गर्ने कार्य हुँदै आएको छ ।
उपमहानिर्देशक वैद्यले भन्नुभयो, “विभागले देशका विभिन्न ८८ वटा स्थानमा स्वचालित मौसम स्टेसन पनि निर्माण गर्न थालेको छ ।  एक वर्षभित्र ती स्टेसन निर्माण सम्पन्न भएपछि ती स्थानको वर्षा, आकाश र जमिनको तापक्रम, घाम लागेको समय, वाष्पीकरण, सौर्य विकिरणको अवस्था, हावाको गति र त्यसले पार्ने प्रभावलगायतका सूचना सहज रूपमा प्रवाह गर्न सकिनेछ । ”
बादललाई बुझौँ र बुझाऊँ भन्ने विषयलाई केन्द्रित गरी विश्व मौसम दिवस मनाइरहेका बेला नेपालले आपूmलाई अन्य विकसित मुलुकले प्रयोग गर्ने गरेको प्रविधिलाई अवलम्बन गर्ने जमर्काे गरिरहेको छ ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक मौसमविद् मणि शाक्यले भन्नुभयो, “धर्तीमा बसेर आकाशको सूचना लिने काम निकै जटिल हो तर पनि मौसमी राडार जडान, चट्याङ नेटवर्क तथा स्वचालित मौसमी स्टेसन स्थापना गर्नेलगायतका कार्यले नेपाललाई अन्य विकसित मुलुकले प्रयोग गर्ने प्रविधिको मुलुकको दर्जामा पु¥याउने छ ।  जसले हाम्रो मौसमसम्बन्धी सूचना अझ बढी विश्वसनीय बनाउने छ । ”
अमेरिका, जापान, चीन तथा भारतलगायतका विकसित मुलुकले आफ्नै भू–उपग्रह प्रयोग गरी यथार्थ तथा विश्वसनीय मौसमी सूचना लिने गरेका छन् ।  नेपालले भने हाल चीन र भारतसँगको सहकार्यमा भू–उपग्रहबाट प्राप्त सूचना लिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here