मौन अवधिसुरु

काठमाडौं,८ मंसिर– आसन्न प्रदेश र प्रतिनिधीसभा अन्तरगत पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मौन अवधि शुरु भएको छ । गएराति १२ बजेदेखी सुरुभएको मौन अवधि निर्वाचन सम्पन्न नहुदासम्म जारी रहने छ ।
मौन अबधि सुरुभएका जिल्लाहरुमा राजनीतिक दल तथा उम्मेदवारले भोट माग्न पाउने छैनन् । मौन अवधिमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको चुनावका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा चुनावको प्रसारप्रसार भने जारी रहने छ ।
पहिलो चरणको चुनावको मौन अवधिमा संचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आचारसंहितामा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने उल्लेख छ । त्यसैगरी मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाइएको छ ।
उम्मेदवारहरुले एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र चुनाव प्रचार प्रसार गर्नसमेत नपाउने व्यवस्था छ । मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here