मोदीको सुरक्षाकालागि आधुनिक र शक्तिशाली हतियार सहित भारतिय सुरक्षा टोली नेपालमा

काठमाडाैंः११ भदाैं,बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेको छ । भारतीय वायु सेवाको विमानमार्फत मोदी चढ्ने ३ वटा बुलेट प्रुफ कार सहित १३ सदस्यीय कमान्डो टोली आज काठमाडौं आएको हो । नेपाली सेनासँगको सहकार्यमा स्पेशल प्रोटेक्सन ग्रूप एसपीजीका सदस्यले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिनेछन् ।

नेपाल आएका सुरक्षाकर्मीले गृहमन्त्रालयको अनुमतिमा आधुनिक र शक्तिशाली हतियार समेत ल्याएको स्रोतले जनाएको छ ।  आगामी बिहीबार र शुक्रबार हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गरेको छ ।

बिमस्टेक अवधि भर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागका २० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय सुरक्षा समितिले जनाएको छ । केन्द्रीय सुरक्षा समितिका अनुसार राष्ट्र प्रमुख र सरकार प्रमुखको सुरक्षामा सेनाका अधिकृत तहका विशेष तालिम प्राप्त अधिकारी खटिने छन् भने बैठक स्थलको सुरक्षाका लागि समेत सेनाको कमाण्डो खटिने छन् ।

महानगरीय कार्यालय रानीपोखरीका प्रमुख डीआइजी मनोज नेउपानेले सबै सुरक्षा तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार भीभीआइपीको सुरक्षाका लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कार्यक्रमस्थल सोल्टीमोडस्थित सोल्टी होटल सम्मको रुटमा सवारी व्यवस्थापनको आज बिहान पूर्वाभ्यास गर्‍यो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले विशिष्ठ व्यक्तिहरूको सुरक्षा निर्देशिका अनुसार पाहुनाहरूको ओहदा अनुसार सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको थियो ।

सुरक्षा योजनामा नेपाल प्रहरीले बैठक स्थलको सुरक्षा प्रबन्ध र एस्कर्टिङ गर्ने, नेपाली सेनाले बिमस्टेक अवधिभर सैनिक हवाई तथा स्थल गस्ती गर्ने उल्लेख छ । पुलपुलेसा र अग्ला भवनहरुबाट सशस्त्र प्रहरीले पहरा दिने र पैदल गस्ती समेत गर्ने तथा राष्ट्रिय अनुसन्धान विभागले गुप्त सूचना संकलन गर्ने जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सुरक्षा समितिले बिमस्टेक बैठकमा सहभागी हुने विशिष्ठ पाहुनाहरुलाई रोहिंग्या शरणार्थीदेखि लिबरेसन अफ तमिल टाईगर इलम लिट्टे सम्मबाट खतरा रहेको विश्लेषण गरेको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनालाई सबैभन्दा बढी सुरक्षा खतरा छ । यस्तै नेपालमा इन्डियन मुजाहिद्दिन आईएम अतिवादी र आतंकवादी संगठन समेतको उपस्थिति देखिएको गुप्तचर निकायको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here