मोदीको शपथ भोली, पाँच छिमेकीलाई मात्रै निम्ता !प्रधानमन्त्री ओली बिहीबार जाँदै, शुक्रबार भेटवार्ता

काठमाडौं,१५ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता छैन ।

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ ।

मोदीले पहिलो कार्यकालका लागि १२ जेठ ०७१ मा शपथग्रहण गर्दा सार्कका सदस्य मुलुक डाकिएका थिए । तर, अहिले बिमस्टेक सदस्य राष्ट्रलाई प्राथमिकतामा राखिएको छ । अघिल्लो सपथमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ शपथग्रहणमा सहभागी थिए । तर, पछिल्लोपटक भारतको पठानकोट, उरी र बालाकोटमा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको छ । यही कारण सार्कको १९औँ शिखर सम्मेलनसमेत पाकिस्तानमा हुन सकेको छैन । पाकिस्तानले आतंकलाई मलजल गरेको आरोप लगाउँदै भारतले शिखर सम्मेलन हुन नसक्ने जनाउँदै आएको छ । ०७३ कात्तिकमा पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके पनि गत वर्ष भदौ दोस्रो साता काठमाडौंमा बिमस्टेको चौथो शिखर सम्मेलन भएको थियो । मोदीले बिमस्टेक मुलुकका सरकार प्रमुखलाई शपथग्रहणमा निम्ता गर्नुलाई सार्कको अनिश्चित भविष्यका रूपमा हेर्न थालिएको छ ।

यसपटक हिन्द महासागर जोडिएको माल्दिभ्सलाई पनि निम्ता छैन । तर, मोदीले एक महिनापछि माल्दिभ्सको औपचारिक भ्रमण गर्ने तयारी छ । ‘अघिल्लोपटक पहाड (भुटान)बाट भ्रमण सुरु गर्नुभएका हाम्रा प्रधानमन्त्रीले यसपटक समुद्र (माल्दिभ्स)बाट भ्रमण शुभारम्भ गर्नुहुनेछ,’ भारतका रक्षा मन्त्रालयसम्बद्ध थिंकट्यांक आइडिएसएका नेपालविज्ञ डा. निहार नायकले भने ।

प्रधानमन्त्री ओली बिहीबार जाँदै, शुक्रबार मोदीसँग भेटवार्ता

फाइल तस्बिर

भारतका समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बिहीबार अपराह्न दिल्ली जाँदै छ । मोदीको शपथग्रहण बिहीबार साँझ ७ बजे भारतीय राष्ट्रपतिभवनमा हुँदै छ ।

ओली र मोदीबीच द्विपक्षीय वार्ता शुक्रबार बिहान हैदराबाद हाउसमा तय भएको छ । ‘शपथग्रहण सम्पन्न भएपछि भोलिपल्ट (शुक्रबार) प्रधानमन्त्रीज्यूले भारतका समकक्षीसँग भेटवार्ता गर्नुहुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले नयाँ पत्रिकासँग भने, ‘औपचारिक वार्ता हुन्छ । तर, बधाई दिने र द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउनेलगायत औपचारिक विषयमा मात्रै छलफल हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई मोदीको निमन्त्रणा सोमबार अबेर मात्रै कूटनीतिक च्यानलबाट प्राप्त भएको थियो । दिल्लीस्थित उपनियोग प्रमुख भरतकुमार रेग्मीलाई भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ बोलाएर निमन्त्रणा हस्तान्तरण गरेको थियो । तर, पहिले नै मौखिक निमन्त्रणा आएका कारण प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको थियो ।

बिहीबार शीतलनिवास राष्ट्रपतिभवनमा संविधानसभा सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली दिल्ली जानेछन् । प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल जाने तय भएको छ । दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी थपिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here