बर्दिवास, २६ साउन: महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् ।
आफ्नो मालिकले अ¥हाएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेका हुन् ।
शिक्षा, स्वास्थ्य र विभिन्न अवसरबाट पछि परेका यो बस्तीका मुसहर नेपाल रेडक्रश सोसाइटी महोत्तरी शाखाको सहयोगले नानीहरुलाई पढाउन थालेका छन् । चेतनामा अत्यन्तपछि परेका यहाँका मुसहर अब धमाधम चर्पी बनाउन थालेका छन् ।
‘बिहान कमाएर (बनी गरेर) ल्यायो, बेलुका भुटेर खायो’ आहानमा उभ्याइने मुसहर अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्ने कुरामा पुरै बेखबर रहने जातिका रुपमा परिचित छन् । खेती मजदूरी (कृषि मजदूरी) गुजाराको मुख्य पेशा रहेको यो जाति अब नियमित राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घ संस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका लोहारपट्टी नै घर भएका प्रदेशसभा सदस्य जानकीशरण साह बताउनुहुन्छ ।

