काठमाडौं, ५ भदौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनले संघीयतालाई संस्थागत गरेको बताएका छन्। सोमबार त्रिचन्द्र कलेजको शतवार्षिकी समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए।
उनले दलहरु एकतावद्ध भएमा आर्थिक समृद्धि टाढा नरहेको बताए। उनले भने, ‘संविधानको कार्यान्यनसँगै हुने प्रदेश र केन्द्रको निर्वाचनपछि मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ।’
संविधानको कार्यान्यनका लागि माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भन्दै उनले सरकार निर्वाचन गराउन सक्षम रहेको बताए।
‘माघ ७ गतेभित्र प्रदेश र केन्द्रको निर्वाचन गराउनै पर्छ’, उनले थपे, ‘दुवै निर्वाचन भएपछि संविधान कार्यान्वयन पनि हुन्छ अनि देश मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ।’
देशको ठूला राजनीतिक परिवर्तनमा त्रिचन्द्र कलेजले अग्रणी भूमिका खेलेको भन्दै पढाइमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
उनले त्रिचन्द्र क्याम्पसले देशका लागि योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताए। नेपालभित्रै प्रशस्त रोजगारीको सम्भावना रहेको भन्दै उनले नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

