मुलुकको व्यापारघाटामा आयात प्रतिस्थापन अपरिहार्यः राष्ट्रपति

काठमाडौं,१४ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभयो ।

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएकाले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता भएको बताउनुभयो ।

नेपालबाट वैदेशिक रोजगारमा जाने युवा जमातको लर्को रोकिएको छैन । झण्डै विश्वका ८४ भन्दा बढी देशमा ४० लाख भन्दा बढी नेपालीले जोखिमयुक्त श्रम गरिरहेका छन् । कूल श्रमबाट नेपाललाई वार्षिक झण्डै रु ६ खर्ब विप्रेषण प्राप्त भइरहेको छ ।

राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने विषयमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउदै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताउनुभयो ।

मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमूलुकको रुपमा सहभागिता जनाएको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कूल २२५ कक्ष रहेको छ । प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here