मुद्दा फस्र्योट संख्यात्मकभन्दा पनि न्यायको अनुभूति हुनेगरी गर्नुपर्ने-कायममुकायम जोशी

चितवन, १२ जेठ- सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दा फस्र्योट संख्यात्मकभन्दा पनि न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी गर्नुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले आज सौराहामा आयोजना गरेको ‘मेलमिलापको सफलताका लागि न्यायाधीश र मेलमिलापकर्ताहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आमजनताले न्यायको अनुभूति हुनेगरी मुद्दालाई किनारा लाउनुपर्ने बताउनुभयो ।

मेलमिलापको चरणमा एउटा न्यायाधीशले आफूलाई निर्णयकर्ताभन्दा पनि सहजकर्ताका रुपमा प्रस्तुत गर्नु बढी उपयोगी हुने भन्दै उहाँले मेलमिलापकर्ताले पक्षलाई सदैव मेलमिलापमुखी सुझाव दिई अनौपचारिक संवाद र राय सल्लाहका क्रममा प्रोत्साहन दिन सक्ने बताउनुभयो ।

उहाँले मेलमिलापकर्ताका रुपमा दरिएका कानून व्यवसायीको अर्को पक्षको कानून व्यवसायीसँगको सद्नियतपूर्वकको मित्रवत् व्यवहार र सम्बन्धले पनि यदाकदा सकारात्मक भूमिका देखाएको बताउनुभयो । मेलमिलापकर्ताको हकमा व्यावसायिक गुणको चर्चा गर्ने वा बुँदागत रुपमा उल्लेख गर्नेभन्दा पनि कार्यक्षेत्रमा वास्तविकता प्रदर्शन गर्ने ठूलो कुरा भएको भन्दै उहाँले भन्नुभयो, “मेलमिलापको सफलता भन्ने विषय कुनै एउटा दृष्टान्त वा सन्दर्भसँग मात्र सम्बन्धित हुँदैन । यो सापेक्षिक विषय पनि हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here