काठमाडौं,१२ असारःप्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीको सरुवामा प्रदेश सरकारसँग समन्वय गर्न केन्द्रीय सरकारलाई सुझाव दिनु भएको छ । मुख्यमन्त्री राउतले कर्मचारी सरुवा, पदस्थापन र काज फिर्ता गर्दा प्रदेश सरकारसँग समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझाउनु भएको हो ।
प्रदेश सरकार सञ्चालनका लागि मुख्यमन्त्रीको कार्यालय तथा विभिन्न मन्त्रालयमा खटिएका सरकारी कर्मचारी सचिव लगायत अन्य कर्मचारीलाई खटाउँदा प्रदेश सरकारसँग समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई औपचारिक पत्र नै पठाउनु भएको छ । प्रदेश सरकारसंग समन्वय नगरी सङ्घीय सरकार र मन्त्रालयले अन्यत्र कर्मचारी सरुवा गर्दा कामकाज प्रभावित भएको उहाँले बताउनुभयो ।
कर्मचारी व्यवस्थापन, सरुवा लगायतमा केन्द्रीय र प्रदेश सरकारबीच समन्वयको अभावमा काममाज प्रभावित बन्दै गएकाले मन्त्रालयलाई ध्यानाकर्षण पत्र नै पठाएको मुख्यमन्त्री राउतले बताउनुभयो ।

