मारिएको १२ वर्षपछि माओवादी नेताको काजकिरिया

चितवन–११भदौं, नारायण नगरपालिका–३ कालीमाटी अरिङ्गालेमा राज्य पक्षबाट १२ वर्षअघि हत्या गरिएका तत्कालीन माओवादीका नगर इञ्चार्ज उत्तम भनिने उदयप्रसाद रेग्मीको कंकाललाई दाहसंस्कार गरिएको छ । उनी मारिएकै तिथिअनुसार शुक्रबार हिन्दू परम्पराअनुसार श्रीस्थानमा दाह संस्कार गरिएको हो ।

माओवादी सशस्त्र युद्धको बेला धर्म, परम्परा र संस्कृति पुरातन कुरा हो भन्दै मृतकका काजकिरिया, श्राद्ध वा यस्ता संस्कार रोक्ने गरेकाले उनको काजकिरिया हुन सकेको थिएन ।

तर, युद्धकालका घटनामा ज्यान गुमाएका उनै माओवादीका परिवारहरुले उनको आत्मा जागेर ‘पित्तर जागेको’भन्दै काजकिरिया गर्न थालेका हुन् । श्रीमती रत्ना रेग्मीको सपनामा आएर ‘मेरो काजकिरिया गरिदेऊ भन्ने गरेको, घरपरिवारमा सबैजना पालैपालो बिरामी परिरहने भएकाले काजकिरिया गर्न थालेको बताइन् ।

हत्याको १२ वर्ष पुग्दा पनि उनले लगाएका कपडाहरु जस्ताकोतस्तै पाइएको थियो । शरीरको मासु गलिसकेको र टाउकोदेखि गोडासम्मकै सबै हड्डी मात्र पाइएको माओवादी केन्द्रकी कोषाध्यक्ष समेत रहेकी उदयकी पत्नी रत्नाले बताइन् ।

०६२ भदौ २१ गते हरितालिका तीजका दिन कालीमाटीका आफन्त मयाराम कटुवालको घरमा तत्कालीन शाही नेपाली सेनाले उदयसँगै सुकुल सिंहलाई गोली प्रहार गरेको थियो । सिंहको परिवारले गतवर्ष कंकाल लिएर धार्मिक विधिपूर्वक काजकिरिया गरेका थिए ।

खरिगैराको सुकुल सिंहको पनि घर परिवारलाई सपनामा आफैं आएर काजकिरिया गरिदेऊ नत्र मैले मुक्ति नपाउने भएँ भन्ने गरेपछि अहिले बस्दै गरेको ठाउँ कोहलपुरबाट आएर एक वर्षअघि कालीमाटीबाट कंगाल झिकेर काजकिरिया गरिएको थियो ।

त्यतिबेला तीजको ३ दिने एकतर्फी युद्धविराम घोषणा गरेको समयमा सदरमुकाम नजिक आएको चाल पाएर तत्कालीन शाही नेपाली सेनाको भवानी बक्स गणको विशेष कार्य समूहले कालीमाटी अरिङ्गालेका मयाराम कटुवालको घरमा बसिरहेको बेला गोली हानी मारेको थियो ।

रेग्मी मारिएको २ महिनापछि स्थानीय प्रशासनसँग अनुमति लिएर १३ दिनको किरिया गरी सकिएको कारण यसपटक उत्तमका एकमात्र छोरा २२ वर्षीय देवेन्द्र रेग्मीले ११ दिन किरिया बस्ने भएका छन् । कान्तिपुरमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here