भक्तपुर, ३ माघ-मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो ।
केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ ।
त्यसैगरी मध्यपुरथिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि आजै मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ । पहिलो पटक सेवा शुरु गरेकाले केन्द्रले आज उनीहरुको निःशुल्क रुपमा एनजिओग्राफी गरेको हो ।
एनजिओग्राफी सम्पन्न गरेसँगै सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै उहाँले मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा दैनिकरुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटु उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ ।”
केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरले अब भक्तपुर र पूर्वका बिरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने बताउनुभयो । उहाँले मुटुको परीक्षणसँगै एनजिओग्राम, मुटुको नशामा बन्द भए बेलुनबाट फुटाउने एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँगसम्बन्धी सेवा लिन अब अन्यत्र जानु नपर्ने बताउनुभयो ।

