माघी पर्वमाः नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइने

काठमाडौँ,२८पुस । नुवाकोटको बेत्रावती र तारुकामा यस वर्ष पनि जुधाउने भएको छ । यसपाली ४७ हल गोरु जुधाइने भएको हो । रसुवा–नुवाकोट पर्यटन समाजले आज पत्रकारसम्मेलन गर्दै वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने बताइयो ।

नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले बताए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको बताए ।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाण्डु, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ ।

यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पछिल्लो छ वर्षदेखि माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताए ।

प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here