काठमाडौं,२० जेठ–काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी व्यवस्थापिका संसदमा दर्ता गराउनुभएको छ ।
देउवाको उम्मेदवारी दर्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रस्तावक र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार समर्थक रहनुभएको छ ।
नेपाली कांग्रेस–नेकपा माओवादीको गठबन्धनबाट देउवाले प्रधानमन्त्री पदमा आफूलाई निर्वाचित गराइयोस् भनी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
संसद सचिवालयले हिजो प्रकाशित गरेको कार्यसूची अनुसार मनोनयन दर्ताका लागि बिहान ११ देखि अपरान्ह ४ बजेको समय छुट्याईएको छ । तोकिएकै समयमा उम्मेदवारी दर्ता गरिएको थियो ।
अपरान्ह साढे ४ बजे दर्ताक्रम अनुसार उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव मनोहरप्रशाद भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री चयनको निर्वाचन भने भोली बिहान ११ बजेका लागि तय गरिएको छ ।

