धनुषा, १६ साउन- प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन नसक्ने बताउनुभएको छ ।
उहाँले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको उल्लेख गर्नुहुँदै सामाजिक विकृति अन्तका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा आज आयोजना गरेको २४औँ प्रकाश मानव अधिकार पुरस्कार २०७४ प्रदान समारोहमा मुख्यमन्त्री राउतले महिलालाई शिक्षित बनाउन प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्राथमिकतामा राखेर अघि बढाएको बताउनुभयो ।
उहाँले प्रदेश सरकार मानव अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै समाजिक न्यायका लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकाले प्रदेश सरकारले चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री राउतले २४आँै प्रकाश मानव अधिकार पुरस्कार २०७४ रौतहटका मानव अधिकारकर्मी मो.मकसुद राँकीलाई प्रदान गर्नुभयो ।

