महिलाका हक अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने:नारायणकाजी श्रेष्ठ

काठमाडौँ, १७ साउन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र कानूनले व्यवस्था गरेका महिलाका हक अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर पार्टी महिला सञ्जालले आज यहाँ आयोजना गरेको ‘राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व’ विषयक अन्तरक्रियामा उहाँले विगतको तुलनामा अहिलेको संविधान र अन्य कानूनले महिला हक अधिकारका साथै समानुपातिक समावेशीताका सम्बन्धमा धैरे प्रावधानको व्यवस्था गरेको बताउनुभयो ।

नेता श्रेष्ठले राजनीतिक दलका नेतृत्वमा रहेको पितृसत्तात्मक सोचको हाबीका कारण मुलुकको राजनीतिक क्षेत्रमा अपेक्षित रुपमा महिला समावेशीता बढ्न नसकेको धारणा व्यक्त गर्दै महिलालाई अधिकार दिने विषयमा प्रतिबद्धता गरेर मात्र नहुने भएकाले व्यवहारमा कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता केशव झाले शासक र शासितबीच जहिले पनि दूरी हुने भएकाले सत्ता पक्षबाट महिला अधिकारका सम्बन्धमा पनि फरकफरक व्यवहार हुने गरेको बताउनुभयो ।

महिलालाई अघि सारेर गरेका विकास निर्माणका काम तुलनात्मक रुपमा बढी प्रभावकारी हुने धारणा व्यक्त गर्दै उहाँले ग्रामीण क्षेत्रमा महिलाको अवस्था अहिले पनि दयनीय नै रहेकाले यसलाई हटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालकी नेत्री एवं सांसद प्रमिला यादवले महिला र पुरुषबीचको सम्बन्ध नङ र मासुको जस्तो भएकाले राज्यले पनि सोही अनुसार नै व्यवहार गर्नुपर्ने बताउनुभयो । महिलाको सम्मान र सशक्तीकरण नभएसम्म कुनै पनि मुलुक सम्पन्न र समृद्ध हुन नसक्ने उहाँको धारणा थियो ।

नेकपा (माले) का प्रवक्ता कुमार बेल्बासेले संविधानमा भएका महिलाका हक अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कानून निर्माण र कार्यान्वयनको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाकी नेतृ एवं सञ्जालकी सदस्य शशी श्रेष्ठले राज्यका प्रमुख निकाय र प्रमुख राजनीतिक दलमा महिला सहभागितासम्बन्धी प्रावधान र कार्यान्वयनको दस्तावेज प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here