काठमाडौं, १९ जेठ–सरकारले तिलगंगा आँखा अस्पताल र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई क्रमश: १० करोड र डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा उक्त दुई निकायलाई बजेट दिने व्यवस्था गरी वितरण गर्ने निश्चित भएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । सुचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरिसकेका छन् ।
तिलगंगास्थीत नेपाल आँखा केन्द्रले सरकारी सहयोग नपाएको गुनासो गर्दै आएको थियो । यि दुवै निकायलाई अनुदानस्वरुपम उक्त रकम दिने भएको मन्त्री जोशीले बताए ।
‘आँखाको लेन्स उत्पादन गरी निर्यात गरेर संसारमा पहिचान कमाउन सफल केन्द्रलाई थप विकास गर्न १० करोड रुपैयाँ सहयोग गर्ने भएका हौ,’ जोशीले बिहिबार पत्रकार सम्मेलनमा भने । उक्त सहयोगपछि उत्पादित आँखाको लेन्स नेपाल भित्र बिक्री गर्दा सहुलियत दरमा आम नागरिकलाई उपलब्ध गराउने र बढी भन्दा बढी देशमा निर्यात गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
आँखा केन्द्रका सञ्चालक डाक्टर सन्दुक रुइत समेत बजेट उपलब्ध गराउने घोषणा कार्यक्रममा सहभागी थिए । उनको योजनामा उत्पादित आँखाको लेन्स हाल विश्वमै गुणस्तरीय उच्च माग भएको उत्पादन हो । आजको कान्तिपुरमा खबर छ ।

