महान्यायाधिवक्तासँग आयोगको छलफल

काठमाडौँ, २ चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरूले आज कान्तिपथस्थित आयोग कार्यालयमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र नायब महान्यायाधिवक्ता किरण पौडेलसँग निर्वाचनमा भाग लिने दलहरूले प्राप्त गर्ने निर्वाचन चिह्न र दलहरूको मर्यादाक्रमका विषयमा छलफल गर्नुभयो ।

त्यस अवसरमा महान्यायाधिवक्ता श्रेष्ठले संसदमा प्रतिनिधित्व गरेको दलका सांसदले नयाँ दल गठन गरे पनि आयोगमा दर्ता रहेको पुरानो दलले पनि निर्वाचन चिन्ह प्राप्त गर्ने र मतपत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मर्यादाक्रम कायम रहने सुझाव
दिनुभयो ।

महान्यायाधिवक्ता श्रेष्ठले राजनीति दल एकीकरण भएमा एकीकृत दलले मान्यता पाउने कानूनी व्यवस्था रहेको जानकारी आयोगलाई गराउनुभयो ।

छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह आयोगका सचिव गोपीनाथ मैनालीलगायतको उपस्थिति रहेको आयोगले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here