काठमाडौं, १५ भदौं–प्रधामन्त्री शेरबहादुर देउवा कञ्चनपुर पुग्नुभएको छ । महाकाली नदीमा निर्माण हुने ४ लेनको पक्की पुल शिलान्यास गर्न उहाँ कञ्चनपुर पुग्नुभएको हो ।
८ सय मिटर लम्बाइ रहेको उक्त पुलको प्रधानमन्त्री देउवाले शिलान्यास गर्ने कार्यक्रम रहेको कन्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभएको छ ।
निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भएकाले तयारी पूरा भएको जनाकारी दिनुभयो ।
पुल शिलान्यास कार्यक्रमका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीर बहादुर बलायर, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुखहरु प्नि कञ्चनपुर पुगिसक्नु भएको छ ।
सरकारले पुल निर्माणका लागि चालु आवमा ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ जसमध्ये १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ ।
३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म ४ लेनको ७ किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ ।

