महँगिँदै निर्माण: विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौँ, १५ भदौ: विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब ५५ करोड २५ लाख जग्गा प्राप्तिका लागि विनियोजन गरिएको छ । यी तथ्य तथा तथ्याङ्कले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा मोटो रकम खर्च गर्नुपर्दा निर्माण थप महँगो र जटिल बन्दै गएको छ । प्राधिकरणले चालू आवका लागि रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार विनियोजन गरेको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल जग्गा प्राप्ति र मुआब्जाका लागि बढी खर्च भइरहेको स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, “प्राधिकरणले आन्तरिक विमानस्थलमा खर्च गरिरहेको छ । सञ्चालन खर्च उठाउन नै समस्या परेको छ । राज्यको दायित्वअनुसार पनि कतिपय स्थानमा लगानी गरिएको छ ।” गत आवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि कोटेश्वरतर्फ रु पाँच अर्ब मुआब्जा वितरण गरिएको थियो । स्थानीयवासीले मुआब्जा बुझे पनि चित्त बुझाउन सकेका छैनन् ।

यस्तै गौतमबुद्ध विमानस्थलका लागि गत आवमा रु १३ अर्ब ६१ करोड विनियोजन गरिएको थियो । सो विमानस्थलको भौतिक प्रगति ५० प्रतिशतभन्दा माथि पुगेको छ । आगामी दश महीनाभित्र सो विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

पोखरा विमानस्थलका लागि रु एक अर्ब २० करोड, विराटनगर विमानस्थल विस्तार गर्न थप जग्गा प्राप्तिका लागि रु १५ करोड, झापाको चन्द्रागिरि विमानस्थल विस्तारका लागि रु ३० करोड, जनकपुर विमानस्थलका लागि रु पाँच करोड, डोल्पा विमानस्थलका लागि रु ३० लाख विनियोजन गरिएको छ । सरकारले क्षेत्रीय रुपमा सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति तथा थप विस्तार गर्ने नीति लिएकाले थप बजेट विनियोजन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here