‘मरे तो मुक्ति, जिये तो मधेस’

काठमाडौं,१४ मंसिर– सर्लाहीको मलंगवास्थित राजपा कार्यालयको भित्तामा ठूला अक्षरमा महन्थ ठाकुरको एउटा उक्ति लेखिएको छ, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ त्यो भित्तो ठाकुरकै घरको हो । र, यो घर पहिला कांग्रेसको कार्यालय थियो । जीवनको लामो खण्ड गुजारेको कांग्रेस छाडेर जब उनले तमलोपा बनाए, त्यसैको कार्यालय बन्यो । अहिले उनी राजपा अध्यक्ष मण्डलका संयोजक छन्, घर पनि त्यही पार्टीलाई कार्यालयस्वरूप सुम्पेका छन् ।

ठाकुर भने जति उमेर ढल्किँदै गयो, ‘मधेस मुक्ति’ को एजेन्डा बोकेर उति आक्रामक राजनीति गरिरहेका छन् । अनि, मुक्तिको गन्तव्यमा पुग्ने आश्वासनसहित महोत्तरी ३ बाट प्रतिनिधिसभाको प्रतिस्पर्धामा उत्रेका छन् । कर्मभूमि सर्लाहीमा पछिल्ला दुई चुनाव हारेका उनी सुरक्षित थलो खोज्दै यसपालि जन्मभूमि महोत्तरी आइपुगेका छन् ।

‘सरकार मधेसप्रति सधैं उदासीन छ । सत्ताको बागडोर जससँग छ, साधन स्रोत उसकै हातमा छ । तिनले मधेसलाई कहिल्यै हेरेनन् । राज्यले मधेसीको अनुहारमा नेपालीपन अहिलेसम्म अनुभूत गर्न सकेको छैन,’ उनले भने, ‘निजामती, न्यायलगायत तमाम सेवामा मधेसीको उपस्थिति न्यून छ । यो समस्याबारे गाउँ–गाउँमा सबैलाई थाहा भइसकेको छ । उनीहरू त्यसको सम्बोधन चाहन्छन् ।

हाम्रो उम्मेदवारी त्यसकै लागि हो ।’ महोत्तरी र यहाँका बासिन्दाको अवस्था दिनदिनै झन् खस्किइरहेको उनले बताए । ‘सदरमुकाम जलेश्वरका नाली दुर्गन्धित छन् । जाडो लागिसक्दा पनि लामखुट्टेको प्रकोप छ । हरेक वर्ष डेंगु र कालाज्वरजस्ता रोगको सामना गर्नुपर्छ । सडक बर्खामा हिलो, हिउँदमा धूलो हुन्छन्,’ उनले भने, ‘बाढी प्रभावितको पीडा उस्तै छ । शिक्षा र स्वास्थ्यमा पछि परेको छ ।’

उनले आफ्नो क्षेत्रका जनता विकासका आकांक्षी रहेको सुनाए । ‘तर विकास भइरहेको छैन । हुलाकी सडकको हामी हरेक साल चर्चा सुन्छौं । तर, खोइ कहाँ छ त्यो सडक ? रोजगार छैन, कामका लागि बाध्यतावश विदेश जानु परिरहेको छ,’ उनले थपे, ‘मधेसमा के भइरहेछ ? यी सब जनताका आवश्यकता राज्यले पूरा गर्नुपर्ने होइन ?’ उनले यस्ता समस्याको समाधानका साथै भद्रगोल अवस्थामा रहेका कतिपय योजनालाई तीव्रता दिन आफ्नो पहल हुने जानकारी दिए ।

असल व्यक्तित्व, स्वच्छ छवि, अध्ययनशीलता, क्रान्तिकारी स्वभाव र इमानदारी उनका प्रशंसनीय पाटा हुन् । कार्यकर्तामा पकड नहुनु, आफ्नो ठाउँको विकासमा खासै चासो नदिनु, कम बोल्नु, सर्वसाधारणको पहुँचबाट टाढा रहनु र सञ्चार सम्पर्कबाट पर बस्नुलाई राजपाकै कार्यकर्ता उनका कमजोरी ठान्छन् । यसपालि मनोनयन दर्तामा नआई प्रतिनिधिमार्फत गराएका उनी त्यसपछि प्राय: राजधानीतिरै बसेर निर्वाचनको मुखमा मात्र क्षेत्रमा झरेका छन् ।

खर्चिलो र रवाफिलो चुनाव प्रचारका सन्दर्भमा उनको ‘भद्र शैली’ आफैंमा चुनौतीपूर्ण देखिन्छ । अरू उम्मेदवार नमस्कार गर्दै घरघर पुगिरहेका छन्, उनी भने सुस्त गतिमा छन् । स्थानीय तहको परिणामले उनको क्षेत्रमा राजपाको कडा पकड देखाएको छ, अर्कातिर कांग्रेसले साथ दिएको छ । तर पनि, विजय चुनौतीमुक्त छैन ।

एकातिर साथ, अर्कातिर घात 

ठाकुरसँग प्रतिस्पर्धामा कांग्रेसले बजरंग नेपालीलाई उठाएको थियो । मनोनयन फिर्ता लिने दिन पार्टीले उनलाई उम्मेदवारी झिक्न निर्देशन दियो । उनले टेरेनन् । आनाकानीमै आयोगको निर्धारित समय गुज्रियो । स्रोत भन्छ– त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधिले उनलाई टेलिफोन गरेरै फिर्ता लिन भने । उनी आयोग कार्यालय पुग्दा समय सकिइसकेको थियो ।

आयोगको जिल्ला कार्यालयले फिर्ताको आवेदन लिन मानेन । राजपाका कार्यकर्ताले लिन दबाब दिए । हल्का विवाद भएपछि दर्तासम्म गरेर केन्द्रमा राय माग्दै लेख्यो । आयोगको केन्द्रले नेपालीको उम्मेदवारी फिर्ता सदर गरिदिन निर्देशन दिँदै साँझ फ्याक्स पठायो ।

तालमेलको अन्तिम घडीसम्मको प्रयास विफल भए पनि कांग्रेसले ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्दै आफ्ना उम्मेदवारी एकतर्फी फिर्ता लियो । राजपा अध्यक्ष मण्डलकै राजेन्द्र महतोसँग भने कांग्रेसका प्रभावशाली नेता निधिको धनुषा ३ मा कडा टक्कर चलिरहेको छ । स्रोतका अनुसार, लेनदेनबिनै दानस्वरूप भएका दुइटा सहयोग निधिकै जोडमा भएको हो । त्यसमा ठाकुर र यादवको व्यक्तित्व एवं घनिष्ठताको ठूलो भूमिका छ ।

महोत्तरी ३ मा एकडारा र पिपरा गाउँपालिका, मटिहानी, जलेश्वर र भिस्वा मनरा नगरपालिका गरी ५ स्थानीय तहका ३५ वडा पर्छन् । यीमध्ये गत चुनावमा पिपराबाहेक ४ स्थानीय तहमा राजपाले जितेको छ । क्षेत्रभरिमा ७८ हजार ९ सय ४ मतदाता छन् । स्थानीय तहको परिणामलाई विश्लेषण गर्दै ठाकुर विजयमा ढुक्क छन् । जिल्लाको पिँधमा रहेको दक्षिणी भेग मात्र यस क्षेत्रमा परेकाले मधेसी दलको बाहुल्य मानिन्छ । कांग्रेस पछि हटेपछिको फाइदा पनि ठाकुरलाई थपिनेछ ।

तर, उनका लागि चुनौती बनेका छन्– स्वतन्त्र उम्मेदवार चन्देश्वर झा । २०७० को चुनावमा महोत्तरी ४ बाट झाले स्वतन्त्र हैसियतमै १० जनाभन्दा बढी उम्मेदवारको जमानत जफत गराउँदै जितेका थिए । त्यससँगै एकाएक राजनीतिको चर्चा

बटुलेका उनी पछि राजपामा प्रवेश गरे । उनले यसपालि टिकटको आस गरेका थिए । नभए समानुपातिकमा राखिनेमा ढुक्क थिए । जब दुवै सूचीमा उनको नाम काटियो, ठाकुरविरुद्धै उम्मेदवारी दिए ।

‘जनताको मतले निर्वाचित मेरो पार्टीले उपेक्षा गर्‍यो । ठाकुरले पहिला आफ्नो नाम समानुपातिकको १ नम्बरमा राख्नुभएको थियो । पछि हटाएर प्रत्यक्षमा आउनुभयो,’ झाले भने, ‘आफ्नी नातेदार इन्द्रा झाको नाम समानुपातिकको ६ नम्बरबाट झिकेर ३ मा ल्याउनुभयो । मलाई कतै ठाउँ दिनुभएन । त्यही भएर उहाँविरुद्ध उठेको हुँ ।’ महोत्तरीका ४ क्षेत्रमध्ये ३ नम्बर सबैभन्दा पिछडिएको हो ।

सदरमुकाम भएर पनि यस क्षेत्रमा कुनै बाटोघाटोसम्म छैन । किसानको बाहुल्य छ, कृषिमा सिँचाइको व्यवस्था छैन । स्वास्थ्य सुविधाका हिसाबले कर्णालीसरह छ । झाले आफ्नो प्रमुख एजेन्डा जलेश्वरमा शिक्षण अस्पताल र कृषि क्याम्पस खोल्ने रहेको बताए । र, मुख्य रूपमा ठाकुरलाई चुनौती दिन चाहेको जनाए ।

परिवारवादको आरोप

क्षेत्र ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका विजय चौधरी प्रतिस्पर्धारत छन् । ४४ वर्षे इलेक्ट्रोनिक इन्जिनियर चौधरी विद्युत् प्राधिकरणको जागिर छाडेर ६ वर्षअघि राजनीतिमा होमिएका हुन् । उनी स्थिर सरकारका लागि मतदाताले वाम गठबन्धनलाई विश्वास गरेको र त्यो विश्वासको मत आफूतिर आउनेमा आशावादी छन् ।

उनले आफ्नो मूल एजेन्डा ‘मधेसको विकास र अधिकार’ रहेको बताए । ‘मधेसका राजपालगायत दलको न कुनै दर्शन छ, न कुनै सिद्धान्त । देश र मधेस बनाउने योजना नहँ‘दा मधेसवादी दलसँग जनतामा वितृष्णा पैदा भएको छ,’ उनले भने, ‘उनीहरू समानुपातिक सहभागिता, जनसंख्याका आधारमा प्रतिनिधित्वको कुरा गर्छन् । व्यवहारमा भने परिवारवाद, नातावाद, कृपावाद चलाउँछन् । निश्चित परिवार र जातिलाई मात्र समेट्ने उनीहरूको चरित्रबाट जनता साह्रै दु:खित छन् ।’

ठाकुर भने जातिवाद र परिवारवादको आरोपले क्रुद्ध छन् । उक्त प्रसंग कोट्याउनासाथ आक्रोशित हुँदै कान्तिपुरसँग भने, ‘तपाईं सरकारको प्रोपोगन्डाबाट मिस गाइडेड हुनुहुन्छ । त्यसैले यस किसिमको प्रश्न गरिरहनुभएको छ । पहाडी पार्टीको नेताको चरित्र कहिले देख्नुभएको छ ? उनीहरूले जिउँदै हात्ती निले पनि कसैले नदेख्ने, मधेसीले एक केजी मासु बजारबाट किनेर लग्यो भने ए मधेसीहरू त मासुभात खाइरहेछन् भनेर सबैले हल्ला गर्ने ?’

कहिले सफल, कहिले विफल

विद्यार्थीकालदेखि नेविसंघ हुँदै राजनीतिमा प्रवेश गरेका ठाकुर २०२७ मा पहिलोपटक जेल परे । छुटेपछि पुन: पुर्जी काटिएको थाहा पाएर भागेर भारतको सीतामढीमा बस्न थाले ।

सीतामढीमा मध्यमाञ्चल हेर्ने गरी नेपाली कांग्रेसको कार्यालय थियो । उनी त्यहीं काम गर्न थाले । सीतामढी प्रवासमै रहेका समकालीन कांग्रेस नेता वासुदेवशरण कोइरालाले भने, ‘ठाकुर वास्तविक सर्वहारा थिए । पैसाको कहिल्यै मतलब राखेनन् ।’

राजनीतिमा क्रियाशीलतासँगै अध्ययनलाई भने उनले निरन्तरता दिए । एमए, बीएल गरेका ठाकुर २०३६ को जनमत संग्रहपछि सर्लाही सदरमुकाम मलंगवामा वकालत गरेर बसे । त्यसयता उनको कार्यथलो सर्लाही बन्यो । २०४८ को चुनावमा कांग्रेसबाट सर्लाही ५ बाट जितेका उनी प्रजातन्त्रपछिको पहिलो उपसभामुख बने । २०५१ को निर्वाचनमा सोही क्षेत्रबाट फेरि विजय भए । त्यतिन्जेल नेता गिरिजाप्रसाद कोइरालाका निकटस्थ मानिने उनी पटक–पटक मन्त्री भए । कांग्रेसको कोषाध्यक्षसमेत भएका उनी सरकार वा पार्टीमा आर्थिक विवादमा कहिल्यै मुछिएनन् । उनी २०६३ को परिवर्तनपछि एक वर्ष कांग्रेसमै बसे । मधेसी जनअधिकार फोरमले चर्काएको मधेस आन्दोलनमा उनी सरकारका तर्फबाट वार्ताकार थिए । मधेस आन्दोलन वार्ताबाट टुंगिएन । बरु उनैले कांग्रेस छाडेर अर्को मधेसवादी दल तमलोपा गठन गरे । निकै कठोर बनेको मधेस आन्दोलन उनको प्रवेशपछि शान्तिपूर्ण भई वार्ताबाट टुंगियो । हाल उनी मधेसवादी पार्टीका सर्वमान्य नेताजस्तै बनेका छन् ।

मधेस आन्दोलनकै परिणामले संघीयता स्वीकार भयो । मधेसवादी पार्टीसँग तत्कालीन सरकारको सहमति गरेपछि भएको पहिलो संविधानसभा चुनावमा निर्वाचन क्षेत्र थपिएर सर्लाहीमा ५ बाट ६ पुग्यो ।

उनी ६ नम्बरबाट चुनाव लडेर पराजित भए । फोरमका कनिष्ठ कार्यकर्ता शिवपुजन रायले उनलाई हराए । २०७० मा उनी फेरि सोही क्षेत्रमा उठे । उनैले उत्पादन गरेका कांग्रेसका अमरेशकुमार सिंहले हराइदिए । चुनाव हो, जे पनि हुन सक्छ । यसपालि पनि चुनावै हो, जुन ७४ वर्षीय ठाकुरका लागि अग्निपरीक्षा बनिरहेको छ । आजको कान्तिपुरमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here